Details

Price: £ 11

Category: Sovereign Citizen Activism

Min. Order Qty.: 1

Max. Order Qty.: 11

Rastrabad Bharam ki yathartha

Youtube link:

–बिजय हितान


Comment: पुस्तक टिप्पणी
गोविन्द बेल्वासेको राष्ट्रवादः भ्रम कि यथार्थ !


गोविन्द बेल्वासे र म धेरै वर्ष अघिदेखि साथी छौं । हामीलाई साहित्यिक, पत्रकारिता, र सामाजिक गतिविधिले चिनाएको हो । हाम्रा लेखनका धार अली फरक परेता पनि नेपालमा एउटै भेगको घाम ताप्ने भएर पनि होला हाम्रा कुराहरु मिल्छन् । म पर्यावरणिय लेखनमा कलम चलाऊँछु त उनी कानुनी र ईन्टरनेट प्रविधिमा । हामीहरु रचनाहरुलाई साटासाट गरेपछि फोन मार्फत एकअर्काको समालोचना गर्छौं । त्यसैमा विश्वाश गरेर होला बेल्वासेले आफ्ना बिचारहरुको पहाड– ’राष्ट्रबादः ‘भ्रर्म कि यथार्थ’ चढेर यसको उचाइ नाप्ने जस्तो गाह्रो जिम्मेवारी मलाई सुम्पिनु भएको छ । उनका यस पहाडरुपी पुस्तकका भञ्ज्याङ र पाखा–पखेरा रुपी लेखहरुमा म पहिला नै सयर गरिसकेको हुनाले यस पहाडको आयतन निकाल्न त्यति गाह्रो नलाग्ला जस्तो मैले ठानेको छु ।


बेल्वासे एक कानुनका विद्यार्थी हुन । उनी अहिले एक बेल्पाली हुन । अर्थात म जस्तै बेलायती नेपाली । उनी एन.आर.एन पनि हुन । अर्थात गैरआवासीय नेपाली । उनले बेलायतको नागरिकता अझै लिएका छैनन्, लिनी योग्य ठहरियता पनि । यस प्रतिबद्धताले उनको नेपाल प्रतिको राष्ट्रवाद दर्सिन्छ । तर उनको यो राष्ट्रवाद ‘भ्रम हो या अथार्थ’ भनेर ठम्याउन यो पुस्तक अध्ययन गर्नै पर्छ । उनी खाडी मुलुकमा गएका लाखौं युवाहरु जस्तो श्रमजिवी होइनन । यी श्रमजिवी युवाहरु बाध्यताले अन्ततः एक दिन नेपाल फर्कनै पर्छ । अनि तिनलाई सच्चा राष्ट्रवादी भनिन्छ । तर हजारौं प्रतिभाशाली युवाहरु अष्ट्रेलिया, युरोप, र अमेरिका तिरै हराउँछन । त्यतैको आइडी, आइ.एल.आर, ग्रिन कार्ड, र नागरिकता लिएर । तर यी बर्गका नेपालीलाई अ–राष्ट्रवादीको बिल्ला भिराइन्छ । बेल्वासे पनि तिनै प्रतिभाशाली गैरआवासीय नेपालीमा पर्छन । तर उनलाई यस्तो सौतेनी आमाको सन्तान जस्तै ब्यवहार पटक्कै मन परेको छैन । त्यसैले त ‘राष्ट्रबादः ‘भ्रम कि यथार्थ’ लिएर पाठक सामु आएका छन । यस अघि ’रातो पासपोर्ट’ नामक कथा सङ्ग्रह पनि प्रकाशन गरेका छन् । एक नेपाली नागरिक भएर विदेसिनु परेको बाध्यतालाई त्यस संङ्ग्रहका केही डायस्पोरिक कथाहरुले उजागर गरेकाछन् ।


विदेशमा पलायन भएका नेपालीमा झनै बढि राष्ट्रवाद हुन्छ भन्ने बेल्वासेको तर्क छ । उनिहरु पलपल नेपालको बारेमा चिन्ता लिएका हुन्छन् । मनमुटुमा नेपाल आमाको माया च्यापेर राखिरहेका हुन्छन् । तर नीति निर्माताहरु गैरआवासीय नेपालीलाई हेय अनि पूर्वाग्रहीको दृष्टिकोणले हेर्छन । त्यसैले मलाई के लागेको छ भने गैरआवासीय नेपालीलाई पूर्ण दोहोरो नागरिकता दिनबाट बन्चित गराइएको विषयप्रति बेल्वासेको चिन्तन नै यस पुस्तकको जन्म हो ।


संघिय संविधान २०७२ ले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक हकको आलङ्कारिक अधिकार दिएको तर राजनैतिक हकबाट बन्चित गरेको विषयलाई यो कसरी नेपालको समग्र विकासको लागि हितकारी छैन भनी बुंदागत रुपमा केलाएर यस पुस्तकमा राखिएको छ । एन.आर.एन बेलायतमा यसको प्रारम्भिक कालमा आफु बसेर काम गरेको अनुभव बाँडदै गैरआवासीय नागरिकतालाई अहिलेका पदाधिकारीको स्वीकार्य प्रति लेखक बेखुसी रहेको पनि बुझिन्छ । भविष्यमा विदेशमा जन्मने हुर्कने नेपालीका सन्तति जुन परवासी नोपली हुनेछन् उनीहरुका लागि गैरआवासीय नागरिकता आवस्यक ठान्छन् ।


तर, अहिलेको डायस्पोरा नेपालीलाई गैरआवासीय नागरिकताले पुग्दैन भन्ने उनको अडान छ । एन.आर.एन नेतृत्वको स्वीकार्यता नेपाली संविधान र कानुन प्रतिको अज्ञानताले हुनसक्छ । एक नेपाली नागरिकको हक र अधिकार सम्बन्धी संविधान र कानुनमा कस्तो ब्यावस्था गरिएको छ भनेर तीनका दफादफा पल्टाएर सर्वसाधारणलाई बुझाउने प्रयास लेखकले गरेकाछन् । दोहोरो नागरिकताको विषयलाई बन्द–हडताल, भाषण गरेर वार्ता टोली गठन गरेर र कुनै कुटनीतिज्ञ, पार्टी नेता, मन्त्री वा सांसद सामुन्ने राखेर भन्दा कानुनी रुपमा अगाडि बढ्दा प्रभावकारी हुन्छ भनेर सर्वोच्च अदालतको ढोका घच्घचाउन पुगेका अभिएन्ता हुन बेल्वासे ।


पुस्तकमा प्रारम्भ भन्ने छुट्टै एक अङ्शको साथै अन्य तीन भागमा लेखहरुलाई विभाजित गरिएका छन् । पुस्तकको प्रारम्भिक पृष्ठहरुमा नागरिकताका किसिम तिनलाई कसले र कतिबेला पाउनसक्छ भन्ने कुराको व्याख्या गरिएको छ । नागरिकता, राज्य, र राष्ट्रियतालाई परिभाषित गर्दै एक नरहे अर्को रहन नसक्ने सम्भावनाहरु देखाइएको छ । नागरिकता र राज्य ठोस बस्तु हुन भने राष्ट्रियता भावना हो ।


नेपालमा जनजाति तथा अन्य साना जातिलाई आत्मानिर्णयको अधिकार दिईनु पर्छ । ती बर्गलाई तिनैका मानिसले नेत्रुत्व गर्न दिइनुपर्छ भन्ने सोंचाइ पनि लेखकको रहेकोछ । अर्थात संघिय संविधान आउनु अगाडि गरिएको जातिय पहिचान सहितको प्रदेशको मागलाई समर्थन गरेको बुझिन्छ । एक जाती र बर्गको चाहनालाई स्वीकार गर्दै समूहगत विकास र फाईदाको लागि अगाडि बढ्नु पर्छ भन्ने बिचार लेखकले राखेका छन् ।


हङ्कङमा बि.एन.ओ पाउने गोर्खा सेनाबाट जन्मेका सन्तानहरु राज्यविहिन हुनसक्ने समस्यालाई पनि यहाँ कोट्याइएको छ ।


नागरिक को ? भन्ने लेखमा आफु सानैदेखि बिद्रोही स्वभाव भएको ब्यक्ती हुँं भनेर बेल्वासे आफुलाई प्रस्तुत गरेका छन । गोरुसिङ्हेमा यात्रु झार्दै बुटवल लाग्नु पर्ने बस सिधै बुटवल लाग्न खोज्दा ड्राइभरलाई सम्झाई, बुझाई अनि थर्काइवरी गोरुसिङ्हे पुर्याएको र घुस लिएर ऋण दिने बैंक अधिकृतलाई आफुहरुले थानामा पुर्याएको घटनाको सम्झना गर्दै एक रैतीदेखि नागरिकमा रुपान्तरण हुन बिद्रोही स्वभाव हुनपर्छ भनेका छन् ।


धर्म र नागरिकतामा अन्तर्सम्बन्ध पाईन्छ । इतिहास केलाउँदा शासकहरु धर्मसँग सम्बन्धित रहेको पाईन्छन् । शासकलाई जसले रिझाउन सक्छ उ नागरिक रहेर बस्न सक्छ । मुस्लिम धर्म अपनाउनेहरु नागरिक भएर राज्यमा बस्न पाउने र नअपनाउनेहरु भेदभाव सामना गर्न परेर हिन्दू आर्य नेपाल भाग्नु परेको ऐतिहासिक पक्षलाई याँहा कोट्ट्याइएको छ । ईजरायल र प्यालेस्तिनीयनहरुको लडाईं पनि नागरिकताको लडाईं हो । यसरि जसले शासकको नियम पालन गर्छ उही नागरिक बनेर रहन सक्छ भन्ने निस्कर्ष यस लेखको हो ।


भोजवाको लालपुर्जा र पूmलचन्द को नागरिकता लेखमा नागरिकता धनीको पेवा हो भन्ने लागेको छ लेखकलाई । हुन पनि हो अमेरिकाको नागरिक हुन पर्याप्त पोइन्ट हुनुपर्छ । जो पढेको छ, जोसंग पैसा छ उही अमेरिका पुगिरहेको हुन्छ । बेलायत भित्रिएका नेपाली पनि त्यस्तै हुन । दशगजा पारिका शिक्षक पूmलचन्द नेपाल आएर पढाउथे । तिनको नेपाली नागरिकता थियो । तर नेपालमै पुर्खौंदेखि बस्दै आएका लेखकका थारु मित्र भोजवाको नेपाली नागरिकता थिएन । ‘लालपुर्जा नहुँदा नागरिकता नपाएको र नागरिकता नहुँदा जग्गा पाउन नसकेको’ वास्तविकतालाई लेखकले अतिनै मार्मिक ढंगमा याँहा प्रस्तुत गरेकाछन ।


बेलायतमा एन.आइ. नम्बर (नेशनल इन्सोरेन्स नम्बर) माग्दा बैंकको खाता खोज्ने र बैंकमा खाता खोल्न जाँदा एन.आई. माग्ने चलन जस्तै ।


नागरिकता कानुनी विषय हो । सर्वसाधारणलाई कानुनी विषय जटिल लाग्छ । पढेर बुझ्न सकिँदैन । मलाई पनि त्यस्तै लाग्छ । तर बेल्वासेले यस पुस्तकमा कानुनी कुरालाई कथाको रुपमा पस्कन सफल भएकाछन । आफ्ना तर्कहरु एक संस्मरणको रुपमा प्रस्तुत गरेकाछन । कथाको रुपमा पस्केर पठन योग्य बनाएकाछन । यसो हुँदा यो पुस्तक पढ्दा पाठकलाई अत्यधिक रुची जागेर आउनेछ भन्ने मलाई लागेको छ ।


जसरी नेपालको उर्बरा माटो वर्षेनी भेलले बगाएर बंगालको खाडीमा थुप्रिन्छ त्यसरि नै नेपालबाट ब्रेन ड्रेन भएको त सबैलाई विदितै छ । यसरि प्रतिभाशाली जनसक्ति विदेश पलायन भएकोमा बेल्वासे आफ्नो लेख सक्कली राष्ट्रबाद र प्रतिभाशाली जनसक्तिमा चिन्तित देखिन्छन । प्रतिभाशाली ब्याक्ति सित्तिमित्ति नेपाल फर्कदैनन् । तर श्रमजिवी नेपाली अरब तथा कोरियाबाट आफ्नो करार सिद्धिएपछि नेपाल फर्किन्छन् ।


तिनलाई सच्चा राष्ट्रवादी मानिन्छ भने विदेश तिरै हराउने प्रतिभाशालीलाई राष्ट्रवादी नमान्ने चलन नेपालमा जन्मेको छ । तर यस कुरामा बेल्वासे असहमत देखिन्छन् । विदेशमा बसेर दिमाग खियाउने नेपाली आफ्नो राष्ट्रप्रति त्यत्तिकै चिन्तित हुन्छन् जति विदेशमा दिन रात दौडेर पाखुरा खियाउने नेपाली । तर नीति निर्माताले यस्तो वातावरण तयार गरिदिन पर्यो कि ती प्रतिभाशाली नेपाली पनि घर फर्कुन ।


नेपाली मात्रै होइन दक्ष विदेशीहरुलाई पनि उच्च तलव र सुविधा दिएर काम लगाउन सकिन्छ । एक केनेडियन मार्क क्यानिलाई बेलायतको बैंकको गभर्नर बनाइएको उदाहरण यस लेखमा दिइएकोछ । हङ्कङमा सन् २००० भन्दा अगाडि लाखौं दक्ष चाइनिजहरु अमेरिका र युरोप विदेशिएका थिए । त्यसपछि यस्तो नीति ल्याइयो र रोजगारीको अवसर सिर्जना गरियो कि सबै चाइनिज धमाधमा हङ्कङ फर्किन सुरु गरे । सन् १९९७ मा चाइनामा गाभिएपछि विकासक्रम ओरालो लाग्छ भनि भविश्यबाणी गर्नेहरु हङ्कङको प्रगतिले आकाश चुमेको देखेर तीनछक परे । राजा महेन्द्रले पनि अंमर गुरुङ र लैनसिङ वाङ्देल जस्ता क्रमठ ब्यक्तिलाई छानीछानी नेपाली नागरिकता प्रदान गरेर उनिहरुको योग्यतालाई देश विकासमा लगाएको इतिहाँस त्यति पुरानो भएको छैन । त्यसैलाइ अनुसरण गरे अहिलेको नयाँं नेपालले निकट भविष्यमा पूर्व पश्चिम रेल गुडाउन सक्ला भन्ने मलाई लागेकोछ ।


विदेशी नेपालीको सिपलाई नेपाल भित्राउने सम्बन्धमा मैले बेलायती राजदुतावास र यहाँ रहेका संघसंस्थामाझ बेलाबेलामा कुरा चलाउँदै आईरहेको छु । मेरा लेखहरुमा यस्ता बिचार पोखिसकेको छु । नेपाल भ्रमणमा जाँदा विदेशी नेपालीहरु साथै तिनका पढेलेखेका सन्तान एकदुई हप्तादेखि दुईचार महिनासम्म नेपालको सरकारी तथा गैरसरकारी संस्थामा बसेर काम गर्ने, सिपको आदानप्रदान गर्ने जस्ता पद्दति निर्माण गरिन पर्छ । यसमा नेपाली राजदुतावास, बेलायती अन्तर्राष्ट्रिय विकास विभाग, र एन.आर.एन. ले सहकार्य गर्न सक्छन् । नेपाली विद्यार्थीहरु रसिया, अमेरिका, फिलिपिन्स इत्यादि देशहरुमा गएर पढ्ने छात्रवृतिको पद्दति जस्तै ।


यस सन्दर्भमा लेखकको “भावनाले मात्रै सक्कली राष्ट्रवादी बनिंदैन, राष्ट्रको उज्जवल भविष्यको नीति कोरेर त्यसलाई लागू गर्ने ब्यक्ति मात्रै सक्कली राष्ट्रबादी ठहरिन्छन्” भन्ने भनाइ गर्बिलो छ । म र मेरो नागरिकता लेखमा शिर्षकले बताए जस्तै लेखकद्वारा आफ्नो अनुभव बाँड्ने प्रयास गरिएको छ । आफु उच्च घरानामा जन्मेका हुनाले नेपालको नागरिक सिधै ठहरिन्थे । तर स्कुलका थारु सहपाठी र अन्य जातकालाई नागरिक भनिने परिवेश त्यतिबेला थिएन । यसले उनलाई अति चिन्तित तुल्याउँथ्यो । यो लेख अध्ययन गरेर म के निस्कर्षमा आएँ भने– जन्मँदा नै नागरिक हुने हैसियत राख्ने लेखक चाहे भने बेलायती नागरिक हुनसक्छन । तर आफ्नो नेपाली नागरिकता हरण हुनेगरी उनी बिदेसी नागरिक बन्न चाहनन् । अहिलेको नागरिकता ऐनको दफा १०ले उनको बंशज (जन्मसिद्ध) नागरिक हक खोसिदिने हुनाले त्यो हुन नदिन उनले सर्बोच्च अदालतलाई गुहारेका छन् ।


राणाकालीन राज्यब्यवस्थाले हिन्दू शाष्त्र ग्रन्थ र रितिरिवाजमा आधारित रहेर सामन्तिहरुलाई मात्रै नागरिक मान्ने, तर महिला तथा दासलाई नागरिक नमानेर राज्य चलाएको बिगतको पृष्ठभूमि पनि यस लेखमा पढ्न पाईन्छ ।


अहिलेको भूमण्डलीकरणको यूगमा एक देशभित्र मानिस सिमित रहनु हुँदैन । त्यसैले लेखक भन्छन– “धनाढ्य र सम्भ्रान्त ब्यक्ति राष्ट्रबादी मात्रै होइन पृथ्वीवादी पनि हुनपर्छ ।” विदेश पलायन भएका नेपालीको निन्दा गरिने चलन छ । त्यसो गरिनुभन्दा स्वादेश भित्रनै अवसर सिर्जना गरिदिने र तिनलाई सुविधा दिएर देश विकासतिर लागाउने नीति निर्माण गर्न लेखक अनुरोध गर्छन् । बिदेश बसाइ सराइँ गर्नु रहर होइन बाध्यता हो भनेर यस बसाईँ लेखमा भनिएको छ । राजनैतिक विभेद, आर्थिक अवसर र विकास, शान्ति सुरक्षा बसाइ सराइका प्रमुख कारण हुन । भारतीय मुलका मित्तललाई बेलायतको नागरिकता दिएर बेलायतले आर्थिक लाभ लिएको, र मित्तलले आफ्नो ब्यापार बढाएको उदाहरण पस्केर यस्तो नीतिले दुबैलाई फाईदा हुने बताउछन् लेखक । विदेशमा बसेका करोडपति नेपालीमा पूर्व एन.आर.एन अध्यक्ष, उपेन्द्र महतो, शेष घले, जिवा लामिछाने र अहिलेका अध्यक्ष भवन भट्ट जस्ता अन्य ब्यक्तिहरु पर्दछन । यस्ता धनाढ्य विदेशी नेपालीलाई दोहोरो नागरिकता दिएर नेपालले धेरै फाईदा लिन सक्छ ।


म पनि १७ बर्षको उमेरदेखि विदेशमा बस्दै आएको छु । भूमण्डलीकरण अर्थात ग्लोबलाइजेसन भन्ने शब्द हङ्कङमा उहिल्लै सुनेको हुँं । तर मेरो उतिबेलाको मिलिटरी माइन्ड (ब्रिटिस–गोर्खा सेना)ले यो शब्द को अर्थ ठ्याक्कै लगाउन सकेन । पछि सेवा निबृत भएपछि हङ्कङ मै फर्कें, अनि सामान्य नागरिकको जीवनमा बल्ल यसको अर्थ बुझें । हङ्कङ जस्तो ब्यापारिक क्षेत्रमा यो शब्द खुबै चलाइँदो रहेछ । चाइनाको एउटा स्वाधिन क्षेत्र भए पनि त्यँहा संसारका हरेक देशका मानिस हुन्थे, अहिले पनि छन् । युरोपियन, अमेरिकी, बेलायती, जापानीज, भारतीय ठूलठूला कम्पनीले मुख्यालय खडा गरेका थिए । पुल बेलायतले, सुरुङ फ्रान्सले, एयरपोर्ट अमेरिकाले, त बिल्डिङहरु चाइनाले बनाइ दिएको हुन्थ्यो । जापान र कोरियाका क्यामेरा र कम्प्युटर बजारमा आलु गोलभेंडा जस्तै बेचिन्थे । भूमण्डलीकरणले स्वतन्त्र ब्यापार (फ्री मार्केट ) सँग र स्वतन्त्र घुमफिर (फ्री मुभमेन्ट) सँग सम्बन्ध राख्दो रहेछ । जसरी मेक्डोनाल्ड, बर्गर र कोक मन पर्छ त्यसरि नै आजकाल बेलायत आएपछि मलाई यो ‘भूमण्डलीकरण’ शब्द खुबै प्यारो लाग्छ ।


पृथ्वीको वातावरणमा मानविय गतिविधिले पारेको प्रभाव र यसको संरक्षणमा त यो शब्दले झनै ठूलो महत्व राख्दछ । यातायातको सुविधा र भूमण्डलीकरणको प्रभावले अत्यधिक नेपाली श्रमिक विदेश गएका हुन भन्छन् लेखक, भूमण्डलीकरण शिर्षक दिईएको लेखमा । तर यसको सकारात्मक प्रभाव नेपाललाई केही नपरेकोले उनी चिन्तित देखिन्छन् । ९५ प्रतिशत कृषि प्रधान देश अहिले ६६ प्रतिसतमा झरेको छ भनेर लेखक विश्वाश गर्दैनन् । नेपालले आर्थिक उन्नति गरेकोले कृषि पेशामा ह्राश आएको होइन । युवा सक्ति विदेश पलायन भएर जोत्ने र खन्ने मान्छे नहुँदा बाझो जमिन रहन गएकोले कृषि पेशा ६६ प्रतिसतमा झरेको भन्ने तर्क राख्छन् । यस बिचारमा सत्यता छ जस्तो मलाई पनि लाग्छ । भूमण्डलीकरण आधुनिक होइन पौराणीक कालमा पनि थियो तर त्यसको स्वरुप समित थियो । उतिबेला संबृद्ध अनि शासक मात्रै बसाइ सराइ गर्थे । तर आजकाल श्रमजिवी पनि गर्न सकेका छन् भनेर बेल्वासे अगाडि लेख्छन ।


राजा महेन्द्रले विदेशी विशेषज्ञहरुलाई बोलाएर देश विकास गरेका प्रमाणहरु अझै छन् । उनको दुरगामी दृष्य प्रति जनताहरु प्रसंशा गर्छन् । तर अहिलेको सत्ताले संविधान मै गैरआवासीय नेपाली जो शिपालु र विभिन्न क्षेत्रमा विज्ञ छन, नेपाल आएर काम गर्नमा तगारो खडा गरिदिएको छ । यस्तो नीतिबाट समाज पिडित बनेको सन्दर्भ एन.आर.एन पूर्व अध्यक्ष शेष घलेले बेलावेलामा राख्ने गर्थे । यस्तै बिषयलाई उठान गरिएको लेख हो– नेपालमा विदेशीको नियुक्ति ।


गैरआवासीय नेपालीको लगाव र लगानी लेखमा एन.आर.एनका कमिकमजोरीलाई केलाउने काम भएको छ । एन.आर.एन धनीहरुको क्लब हो, उपकार संगठनको रुपमा मात्रै बढि देखिन्छ, चुनावको बेलामा मात्रै भोट माग्न सदस्यहरुमाझ सक्रिय देखिन्छ भन्ने तथ्यलाई मार्मिक भावमा ब्यक्त गरिएको छ । करोडौं पैसा उठाएर नेपाललाई क्षणिक सहयोग पुर्याउनु मात्रै एन.आर.एन को उद्देस्य हुनुहुंदैन । नेपाल राज्य भित्र मात्रै सिमित नरहेर बाहिरी मुलुकमा बसेका नेपालीलाई पनि समेटेर राष्ट्र निर्माणमा लाग्न पर्छ । भविष्यका गैरआवासीय सन्ततिलाइ समेट्ने खालको नीति ल्यानु पर्छ भन्दै यहूदीहरुले अन्ततः ईजरायल भूमि खडा गरेको उदाहरण यँहा दिईएको छ ।


उनीहरु विश्वमा छरिएर रहेता पनि राष्ट्रवादको कारणले अन्त्यमा ईजरायल देश खडा गरेरै छोडे । यो लेख पढ्दा मलाई मेरो ‘हे नारन ! यो के भएको एन.आर.एन !’ भन्ने लेखको सम्झना आइरहेछ । संसारका धेरै राष्ट्रहरुमा दोहोरो नागरिकताको ब्यावस्था छ । नागरिकता निरन्तरता भनिने लेखमा कुनकुन देशमा दोहोरो नागरिकताको ब्यावस्था गरिएको छ, ती राष्ट्रले कसरि यसको फाईदा लिएका छन् भनी बिश्लेषण गरिएका छन् । गैरआवासीय नेपाली नागरिकले आर्थिक, सामाजिक अधिकार पाएको तर राजनैतिक हक नपाएको अवस्थामा के कस्ता कठिनाई गैरआवासीय नेपालीले झेल्न पर्छ भनी उदाहरण सहित लेखकले आफ्ना तर्क पेश गरेका छन । एक गैरआवासीय नेपाली सुरेन्द्र बहादुर श्रेष्ठले आफ्नो कानुन ब्याबसायी प्रमाणपत्र नबिकरण गर्न नसकेको घटना दुख लाग्दो छ ।


मिडिया सधैं निश्पक्ष हुनपर्छ भनिन्छ । तर त्यसो व्यवहारमा लागू हुँदैन । मिडियालाई कसै न कसैले पछाडिबाट परिचालित गरिराखेको हुन्छ । संविधानको धारा २९१ शिर्षक लेखभित्र नेपाली मिडियाले कानुन ब्यावस्था नबुझिकन पूर्वाग्रही बनेर दोहोरो नागरिकताको सवाललाई नकारात्मक समाचार बनाएर संप्रेषण गरेको विषयलाई उठाइएको छ । अमेरिकाको ग्रिनकार्ड होल्डर एक शेर्पा पाइलाटलाई नेपाल वायुसेवा निगमले अन्य पाइलाटलाई भन्दा विज्ञताको आधारमा बढि तलब दिन्छ । त्यसो गर्दा नेपालका पाइलट अनि कर्मचारीले निगमको कडा आलोचना गरेका छन् । यदि विदेशी पाइलटलाई बढि तलब दिन मिल्ने तर नेपाली मुलकालाई नमिल्ने भनिएर एक बाझिएको प्रसँग यस लेखमा राखिएको छ । यसरि गैरआवासीय नेपालीप्रति नेपालका पदासिन अधिकारीहरुले पूर्वाग्रह पालेको पुष्टि यस लेखले गर्छ ।


कति पाठकमा मुद्दा हाल्नुको खास कारण के होला भनी कौतुहल जाग्न सक्छ । त्यसैलाइ मध्यनजर गर्दै लेखकले मुद्दाकै अवस्था किन र कसरि भन्ने लेखमा मुद्दा हाल्दासम्म के कस्ता अवस्था सिर्जना भएका थिए भनेर पृष्ठभूमिको व्याख्या गरेका छन । नागरिकता ऐन २०६३ को दफा १० संविधानसँग बाझिएकोले सर्वोच्चमा मुद्दा दायर गर्नु परेको बुझिन्छ । संविधानले सार्वभौमसत्ता सम्पन्न नागरिक भनेको छ भने नागरिक ऐनले विदेशी नागरिक हुनासाथ नेपाली नागरिक स्वतः त्यागिने भनेको छ । दफा १० लाई खारेज गरिपाउँ भनी मुद्दा दायर गरिएको र सफल भएमा लाखौं विदेश बस्ने नेपालीलाई आफ्नो भूमिप्रतिको माया र सेवा झनै गाढा भएर जाने अनुमान गर्न सकिन्छ ।


नागरिकता नागरिकको मौलिक अधिकार हो । यस अधिकारलाई कसैले छिन्न प्रयत्न गर्छ भने त्यो गैरकानुनी मानिन्छ । त्यसैले उसको स्वइच्छाले मात्र नागरिकता परित्याग गरिनुपर्छ भन्दै यसको संरक्षणको लागि विदेशमा रहेका नेपाली संघसंस्थाले त्यति ध्यान नदिएको गुनासो दोहोरो नागरिकताकोलागि संगठन सकृयता लेखमा पोखिएकोछ । बिबिक्यु र पार्टी खान्छन तर दोहोरो नागरिकताको सवालमा कुनै अन्तर्कृया र गोष्ठि गर्दैनन । दोहोरो नागरिकताको ब्यावस्थामा नेपाली नीति निर्माताहरु खतरा देख्दछन् । तर यसमा नेपालले के कस्ता फाईदा लिन सक्छ र भारतले दोहोरो नागरिकताको ब्यावस्था गरेर कसरि आर्थिक फाईदा लिँदैछ भनेर यस लेखमा प्रस्ट्याईएको छ ।


कतिले भन्ने गर्छन् अहिलेको ब्यावस्थाले आर्थिक हक दिएकै छ, राजनैतिक हक बिनाको दोहोरो नागरिकतालाइ किन न स्वीकार्ने ? तर माथि उल्लेख गरिए जस्तै श्रेष्ठको कानुन ब्याबसायी प्रमाणपत्र नविकरणको जस्तै आर्थिक गतिविधिमा पनि बाधा अड्चन नआउँलान भन्न सकिन्न । किनकि आर्थिक गतिविधिमा पनि राजनैतिक हक अधिकारका कुराहरु आइहाल्छन । लाखौं नेपाली युवाहरु पाखुरा बजाउन खाडी मुलुक र कोरिया जापान पुगेका छन् । उनिहरु बर्षेनी भित्रिने करोडौं रेमिट्यान्सका स्रोत हुन । म पनि त्यसै समूहमा पर्छु ।


३० बत्तीस वर्ष पुगेछ मैले पनि नेपालमा रेमिट्यान्स भित्र्याउने गरेको । गन्नी हो भने दशौं करोड पुगे होला । तिनैले भित्र्याएको डलरले नेपाल चलेको छ । वास्तवमा उत्पादनका सामाग्री निर्यात गरेर डलर भित्रिन सकेको भए मात्रै हाम्रो देशको अर्थतन्त्र दिगो रहन्थ्यो । नेपालको अर्थतन्त्रको मुख्य स्रोत रेमिट्यान्स तर उचित ब्यावस्थापन गर्न नसक्दा उर्बराभूमि बांझो रहेको भनेर रिमिट्यान्स लेखमा लेखक खिन्नता प्रकट गर्दछन । यसमा ७९ प्रतिसत रेमिट्यान्सको पैसा उपभोग्य बस्तुमा खर्च गरिएको तर २ प्रतिसत मात्रै उत्पादन मुलक कार्यमा लगाइएको तथ्याङ्क प्रस्तुत गरिएको छ । मैले पठाएको पैसा पनि सुरुमा मुखमा माड हाल्न, त्यसपछि भाइबैनीहरुको स्कूल फिस बुझाउन, गरगहना र जग्गा किन्न र घर बनाउन जस्ता अनुत्पादक कार्यमा खर्च भएका छन् । हिँजआज मात्रै मेरो रिमिट्यान्स पुस्तक, गितका एल्बम र नाटक निर्माण जस्ता केही सिर्जनशिल कार्यमा खर्च भएको छ । लेखकले भारत विश्वमा सबैभन्दा बढि रेमिट्यान्स भित्र्याउने राष्ट्र हुनका साथै त्यसको राम्रो ब्यावस्थापन गरेर आर्थिक उन्नतिमा छलाङ मार्दै गरेको बताएका छन् ।


बाउ काङ्ग्रेस, एउटा छोरो माओवादी र अर्को जनमुक्ति पार्टिलाई समर्थन गर्ने भएर एकै परिवारमा बोली बाराबार भएको घटना प्राय नेपाली राजनीतिमा सुनिन्छ नै । यस्तै प्रसँग दोहोरो नागरिकता खारेज गर्न बहालवाला न्यायाधिस पुत्री सर्बोच्चमा उजुरी लेखमा पाईन्छ । यस भूमण्डलीकरण र आधुनिक यूगमा एउटै परिवारभित्र मतमतान्तर रहनु स्वाभाविकै हो ।


भाग ३ मा मुद्दा को प्रकृया, मुद्दा हालेपछिका साथीहरु तथा विज्ञका प्रतिकृया र अदालतले दिएको जवाफलाई सम्मिलित गरिएकोछ । अनि गोविन्द बेलावासे अर्थात लेखक स्वयं निबेदक बनेर सर्बोच अदालतमा चढाइएको मुद्दा (नागरिकता ऐन २०६३ को दफा १० संविधानसँग बाझिएकोले खारेज गरी पाउँ)को निवेदनलाई यस पुस्तकमा जस्ताको तस्तै उद्रित गरिएको छ ।


अन्त्यमा, म एक गैरआवासीय नेपाली भएको हैसियतले मुद्दाको नतिजा हाम्रो पक्षमा आओस भन्दछु । खैर ! मुद्दाको पारिणाम जे सुकै आउला, यो पुस्तक एक ऐतिहासिक दस्तावेज बन्नेछ भन्ने मलाई लागेको छ । यो कानुनविद, विद्यार्थी, र सर्वसाधारणलाई पठन योग्य हुने मैले देखेको छु । यसले निश्चयनै सरकारी ओहदामा बसेर नीति निर्माण गर्नेहरुलाई प्रगतिशिल र उदार नीति अपनाउन हौसला प्रदान गर्नेछ । यति चुनौतिपूर्ण कार्यमा हात हाल्नु भएको र दोहोरो नागरिकता जस्तो गहन विषयलाई सर्वसाधारणसम्म पुर्याउन यो पुस्तक प्रकाशन गरेर जनजागरण फैलाउन प्रयासरत मेरा मित्र गोविन्द बेल्वासेलाई सफलताको शुभकामना !


डिसेम्बर २०१७, फक्स्टोन, केन्ट, बेलायत
Date: 2/13/2018 12:00:00 AM